प्रचण्ड
नेपाली समाजको मौलिक विकासमा जे परिवर्तन भएको छ र माओवादी स्कुलको जन्म भएको छ र त्यसको प्रयोगको सन्दर्भमा जे जति कुराहरु भएका छन् त्यो बाहिरबाट हेर्दा आश्चर्यलाग्दो र उलटपुलटकारी छन् । जनयुद्धभित्रका नायकहरुलाई टाउकाको मूल्य तोक्ने, रेडकर्नर नोटिस जारी गर्ने र आतंककारीको विल्ला भिराउने घटना बेहोर्दै हामी अगाडि आयौं । नेपाली जनताको साथ समर्थन र हाम्रो आफ्नै मौलिक विशेषताको कारण हामी यहाँसम्म आयौं । इतिहासमा बडो विचित्रको संयोग के भएको छ भने यो प्रक्रियासँगै हिजो हामीलाई जंगली भन्नेहरु आज जंगलमा पुगेका छन् भने हामी जंगलमा भएका भनिएकाहरु राजनीतिको मूल प्रवाहमा आएका छौं । यो नेपाली क्रान्तिको मौलिकता र विशेषताको परिणाम हो ।
यसरी संघीय गणतन्त्रको संविधान जारी गर्दासम्म मूलभूत रुपमा जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाती आन्दोलन आदिका मूलभूत मागहरु संवोधन गर्नु नै यो संविधानको मूल उपलब्धी हो । राजनीतिक संश्लेषणको रुपमा भन्नुपर्दा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्याय जस्ता मुद्दाहरुलाई संस्थागत गर्न सफल भएका छौं । योसँगै हामीले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेका छौं । त्यस्तै सामाजिक न्यायलाई सुनिश्चित गर्न थुप्रै मौलिक हकको व्यवस्था पनि संविधानमा गर्न सफल भएका छौं । यी तमाम उपलब्धीका बावजुद यो संविधानमा केही परम्परागत अवशेषहरु पनि बाँकी रहेका छन् । अझैपनि यो संविधानले कुनै न कुनै तवरले संसदवादलाई अंगिकार गरेको छ । जसमा हाम्रो गम्भीर असहमति रहेको छ । परिवर्तित सन्दर्भमा जनताका जनप्रतिनिधिमुलक प्रणाली वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपथ्र्यो तर त्यसो हुन सकेन । त्यतिमात्रै भएको भए पनि नेपालमा संसदवादको अन्त्य हुन्थ्यो । यो हुन नसक्नु विद्यमान संविधानको ठूलो कमजोरी हो ।
पार्टी एकता र नयाँ विजयको यात्रा
पछिल्लो दश वर्षमा माओवादी पार्टीमा देखा परेका विभाजन र एकताका विभिन्न आयाम र मौलिक विशेषताहरु छन् । विभाजन पनि तिव्र गतिमा भयो भने एकता पनि तिव्र गतिमै भयो । विभिन्न दश वटा क्रान्तिकारी पार्टीहरु एकैसाथ एकताबद्ध हुने कुरा आफैमा ऐतिहासिक रह्यो । माओवादी आन्दोलनका आफ्नै मौलिक वैचारिक र साँस्कृतिक पक्षहरु छन् । यो एकता निषेधको निषेधको नियममा आधारित एकता पनि हो । सुरुमा माओवादीलाई एकीकृत नेकपा (माओवादी)ले निषेध ग¥यो फेरी एमाओवादीलाई फुटले निषेध ग¥यो । अहिले एमाओवादीलाई एकताले निषेध गरेको छ र माओवादी केन्द्रको जन्म भएको छ । त्यसैगरी यो एकताले पार्टी एकताको मात्र होइन नेपालको समग्र राजनीतिक एकतालाई पनि प्रतिनिधित्व गर्दछ । त्यसैगरी नेपालमा प्रयोग भएको यो एकता विश्व कम्युनिष्ट आन्दोलनमा भएकोभन्दा मौलिक र पृथक प्रकृतिको छ । किनभने उही नेतृत्वले जनयुद्धको तयारी ग¥यो, उही नेतृत्वले दश वर्ष जनयुद्ध ग¥यो र अर्को दश वर्ष संविधान निर्माणको नेतृत्व ग¥यो र उही नेतृत्वमा माओवादी पार्टी विभाजन र टुटफुट हुने र आज फेरि उही नेतृत्वमा एकताको पहल गर्ने र अघि बढ्ने कुरा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नयाँ प्रयोग र विकास हो । यो हामी सच्चा कम्युनिष्टहरुको लागि गौरवको कुरा पनि हो । अर्को यो एकताको उद्देश्य नेपाली क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने र समाजवादतिर जाने त छँदैछ तत्काल संविधान कार्यान्वयन गर्ने, राष्ट्रिय स्वाधिनता, राष्ट्रिय एकता कायम गर्ने र त्यो भन्दा पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा मालेमावादको विकास गरेर विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा प्रदान गर्ने रणनीति सहित विचारको नयाँ विकास गर्ने कुरा पनि यो एकतामा अन्तरनिहित छ ।
एक नम्बरको पार्टी बनाउन जुटौं ।
समग्रमा भन्दा यो एकतामा देशैभरी आम श्रमजीवि, उत्पीडित जनता कार्यकर्ता र सहिद वेपत्ता परिवार, घाइते अपांग साथीहरु सबैमा नयाँ उत्साह, आत्मविश्वास र मनोबल बढेको पाइन्छ । म आफैपनि सहिद बेपत्ता परिवारका कार्यक्रममा पश्चिमतिर खासगरी बर्दिया जिल्ला जाँदा जनयुद्धमा बढी सहिद भएको जिल्ला पनि हो त्यहाँ सहिद परिवारहरुलाई भेट्दा उत्साहको बाढी नै पैदा भएको छ । हाम्रा सन्तानले रगत बगाएको कुरा खेर जान्छ की भन्ने चिन्ता थियो अब यो एकताले नयाँ आशा पलाएको छ भन्ने प्रतिक्रिया व्यक्त गर्नुभएको छ र एउटा उत्साहको लहर नै चलेको पाइन्छ । आम कार्यकर्तामा पनि त्यो उत्साह पैदा भएको छ । खासगरी संविधान बनिसकेपछि यो पार्टीलाई दुई वर्षभित्रै ठूलो एक नम्बरको पार्टी बनाउने जुन उद्घोष मैले गरेको थिएँ अब त्यस दिशामा अघि बढ्ने आत्मबल आम कार्यकर्ता पंक्तिमा पलाएको छ ।
महाधिवेशनसम्ममा संगठनात्मक हल
संगठनमा कहिलेकाँही नमिलेको जस्तो, भद्रगोलजस्तो देखिन जान्छ । त्यसलाई विचार राजनीतिले नै हल गर्नुपर्दछ । यो समस्या नेपाली कम्युनिष्ट आन्दोलनको मात्र नभएर विश्व कम्युनिष्ट आन्दोलनको समस्या हो । विश्वभरी हे¥योभने प्रतिक्रान्ति कहाँबाट भयो भन्दा विचार र राजनीति भन्दा पनि सांगठनीक समस्या भएको देखिन्छ । संगठनभित्रको सेटिङ मिलाउन नसक्दा विश्वमा ठूला ठूला प्रतिक्रान्ति भएका छन् । चाहे रुसमा होस् या पूर्वी यूरोपका प्रतिक्रान्तिहरु हेर्नोस् । विदेशी आएर साम्राज्यवादी पूँजीवादीहरु आएर कम्युनिष्ट आन्दोलनमा प्रतिक्रान्ति भएको कहिँपनि देखिदैन । प्रतिक्रियावादीहरुले जितेर प्रतिक्रान्ति भएको छैन । कम्युनिष्टहरुलाई दबाएर प्रतिक्रान्ति भएको देखिदैन । बरु पार्टीभित्रको अन्तरविरोध र पार्टीभित्रैबाट प्रतिक्रान्ति भएका इतिहास छन् । त्यसकारण हामीले जे प्रयोग गर्न खोजेका छौं । त्यो महाधिवेशनसम्म संगठनात्मक सिद्धान्तकै विषयमा छलफल बहसद्धारा एउटा निष्कर्षमा पुग्न खोजेका छौं । हामी माओवादीको इतिहास हेर्दा पनि संगठनको विषयमा निर्णय लिँदा परम्परागत कम्युनिष्टहरुको जस्तो घिसेपिटे तरिकाले संकुचित भएर निर्णय लिनेभन्दा पनि क्रान्तिकारी छलाङमा संगठन सम्बन्धी आवश्यक निर्णय लिने गरिएको छ । म नेतृत्वमा आइसकेपछि २०४५ सालदेखि संगठनको क्षेत्रमा हेर्नुहुन्छ भने त्यहाँ छलाङ सुरु हुन्छ । मैले नेतृत्व गरेको पार्टीलाई भत्काएर वा निषेध गरेर नयाँ पार्टी एकताकेन्द्र बनाइयो । एकताकेन्द्रको चारपाँच वर्ष नेतृत्व गरेपछि त्यसलाई पनि निषेध गरेर माओवादी पार्टी बनाइयो र पुरै पार्टीलाई फौजीकृत बनाएर जनयुद्धमा हामफालियो । फेरि शान्ति प्रकृयामा आइसकेपछि माओवादी पार्टीलाई भत्काएर एकीकृत माओवादी बनाइयो । त्यो जनयुद्धको संगठनलाई निषेध गरेर शान्तिपूर्ण राजनीतिको संगठन बनाइयो । यो पनि एउटा प्रयोग नै हो । त्यो कति सफल कति असफल त्यसको सिंगो समिक्षा हुन बाँकी नै छ ।
अहिले यो बीचमा ठूला ठूला पार्टी कमिटि बनाएर फेरि १५१ को केन्द्रीय समिति, सानो पोलिटब्यूरो, सानो स्थायी कमिटि बनाउने प्रयोग पनि गरियो । युद्धकै बेलामा पनि १९ जना केन्द्रीय समितिबाट जनयुद्ध सुरु गरेका थियौं । त्यसपछि शान्ति प्रक्रियामा आउँदा ९५ जनाको केन्द्रीय समिति बनाएर फेरि ३३ जनामा झारेका थियौं । यी सबै प्रयोगहरु गर्दै आएका छौं र अहिले हामीले अलि ठूलो संख्यामा केन्द्रीय महाधिवेशन आयोजक समिति बनाएका छौं । यसलाई केहीले ठूलो भयो भनेका छन् । तर त्यसलाई महाधिवेशनसम्म एउटा सांगठनिक सिद्धान्तको विकास गरेर हल गर्ने सोँचेका छौं र विश्वभरी प्रतिक्रान्ति हुने संगठनात्मक सिद्धान्तमा कहाँकहाँ त्रुटि रहेका छन् भन्ने कुराको नयाँ संश्लेषण गरी विश्व कम्युनिष्ट आन्दोलन कै सांगठनिक समस्याको हल गर्ने विधिको पनि विकास गर्दैछौं ।
साम्राज्यवादको डिजाइनमा बाबुरामको स्खलन
बाबुराम भट्टराई जो तीसौं वर्ष माक्र्सवादी बनेर हामीसँगै हिड्नुभयो । माक्र्सवादी बन्ने प्रयास गर्नुभयो । अन्ततः उहाँ थाक्नुभयो र विचलित हुनुभयो । यो कम्युनिष्ट आन्दोलनको विडम्बना हो । उहाँ माओवादी समेत बनेर जनयुद्धमा लाग्नु भयो । तर उहाँको वैचारिक आस्था पूँजीवादतिर, सुधारवादतिर नै बढी जोड रहेकोथियो । उहाँसँगको संघर्ष हेर्नुहुन्छ भने सुरुदेखि अन्तसम्म वैचारिक संघर्षमा नै थियो । मेरो कोसिस बाबुरामजीलाई माक्र्सवादी बनाउनु थियो भने बाबुरामजीको कोसिस मलाईउ समेत सुधारवादमा लैजाने थियो । लगभग यो संघर्ष तीस वर्षसम्म चल्यो । हामीसँगै हुँदाखेरी बिबिसीको एउटा अन्तरवार्तामा भनेको थिएँ २५ वर्षसम्म मैले बाबुरामलाई झेलेँ अरुले झेलेको हेर्न चाहान्छु । त्यो त्यत्तिकै भनिएको थिएन । अहिले बाबुरामजीलाई माक्र्सवादी बन्न नदिन र आफ्नो वर्गकै सेवा गरोस् भन्ने समाजवादीहरु सुरुदेखि नै लागि रहेका थिए । त्यसमा उनीहरु अहिले सफल भएका छन् । बाबुरामजी कतै माओवादीहरुसँग हिड्दाहिड्दै माक्र्सवादी नै हुने हो की भन्ने चिन्ता साम्राज्यवादीहरुलाई थियो । उनीहरु माओवादीभित्रको एजेण्टको रुपमा बाबुरामलाई बुझ्ने गर्थे । तर हामीहरु उहाँलाई पुरै माक्र्सवादी बनाउन सकिन्छ की भनेर लागेका थियौं । त्यसो गर्दा साम्राज्यवादीहरुले प्रयोग गरेको हतियारलाई पुरै भुत्ते बनाउन सकिन्छ की भन्ने थियो । तर त्यो सम्भव हुन सकेन । उहाँलाई माक्र्सवादी बनाउन सकिएन । उहाँलाई बुर्जुवाहरुले लगिछाडे ।
अहिले नयाँ शक्तिको नाममा नौटंकी प्रदर्शन जस्तो देखिन्छ । यो सबैलाई थाहा भएकै कुरा हो । यो बाबुरामको बुद्धिले मात्र भएको हैन । यसलाई सिंगारपटार गर्ने, लिपस्टिक लगाउने, विज्ञापन गर्ने पुरै काम कहाँबाट भएको छ ? र कस्तो बेलामा भएको छ भन्ने कुरा पनि सबैले बुझेका छन् । त्यसैले यसलाई धेरै टिकाटिप्पणी गर्न जरुरी छैन । यो आम नेपाली सर्वहारा जनता माथिको चुनौति पनि हो । यसलाई राजनीतिक वैचारिक र सैद्धान्तिक हिसाबले परास्त गर्नुपर्छ । र साम्राज्यवादीहरुको षड्यन्त्रलाई ध्वस्त बनाउनुपर्छ । सांगठनिक, साँस्कृतिक, भावनात्मक दृष्टिकोणबाट पनि यसलाई परास्त गर्नुपर्छ । हिजो जनयुद्धमा सहभागी भई जनपरिषद्को प्रमुख समेत भएर नेपाली जनताका छोराछोरीलाई बलिदान गर्नका निम्ति अपिल गर्नुभयो । म पनि कम्युनिष्ट माओवादी नै हुँ सर्वहारा वर्गको मुक्तिको निम्ति ज्यान आहुति गर्नुस भनेर अपिल गर्नुभयो । अहिले ति सबैलाई छोडेर अर्को वर्गको पछि लाग्नुभयो । उहाँले इतिहासप्रति आम नेपाली सर्वहारा वर्गप्रति जुन घात गर्नुभएको छ, त्यसको परिणाम त उहाँले भोग्नै पर्छ ।
दायाँ र बायाँ संशोधनवादसँगको संघर्ष
हामीले माओवादी एकतामा सबै वर्ग पक्षलाई समेट्न खोजेकै थियौं । अझ बाबुरामजीलाई पनि रोकेर माक्र्सवादी कित्तामा उभ्याइराख्ने भनेका थियौं । एक वर्ष अगाडि मैले बाबुरामजीलाई तपाईं पार्टीको अध्यक्ष बन्नुस् पनि भनेको थिएँ । उहाँलाई माक्र्सवादी बनाइराख्न पार्टीमा टिकाइराख्न यो अन्तिम प्रयास जस्तो थियो । किरणजीहरुसँग पनि पार्टी एकताका लागि निरन्तर छलफल बहस गरियो । किरणजीलाई पार्टी एकतामा ल्याएर माओवादी मुलधारभित्रै समेटेर लैजाने कोसिस गरियो तर न बाबुरामजीलाई रोक्न सकियो न किरणजीलाई ल्याउन सकियो । यहाँ अरु घटकहरुबीचको एकता भएको छ र बाबुरामजी र किरणजीसँग एकता नहुनुमा वैचारिक मतभेद नै हो । यहाँ एउटा दाँया विचलनको हिसावले बाबुरामजी वर्ग समन्वयमा जानु भयो र बुर्जुवा कित्तामा उभिनुभयो । वैचारिक विचलन नै भएपछि जोगाउन गाह्रो हुन्छ । माओले भन्नुहुन्छ अण्डाबाट चल्ला बनाउन सकिन्छ तर ढुंगाबाट चल्ला बनाउन सकिदैन । बाबुरामजीलाई माक्र्सवादी बनाउँछु भन्नु ढुंगाबाट चल्ला बनाउँछु भन्ने जस्तै भयो । यता किरणजीहरु माक्र्सवादलाई शास्त्रीय र परम्परागत ढंगले पुरै जडताका साथ बुझ्नुहुन्छ । उहाँले परिवर्तन गतिशीलतलाई अंगाल्न सक्नुहुन्न । द्धन्द्धवादलाई लेख्नु त हुन्छ तर कहिल्यै ग्रहण र प्रयोग गर्न सक्नुहुन्न । त्यसकारण उहाँ वैचारिक रुपमा दायाँ विचलनको कारणले ल्याउन सकिएन । तर मलाई के लाग्छ भने माओले एकचोटि के भन्नुभएको छ भने दक्षिणपन्थि संशोधनवाद भन्दा जडसुत्रीय संशोधनवाद नै नजिक हो किनकी दक्षिणपन्थी संशोधनवादले आफुलाई वर्ग समन्वय गर्दै बुर्जुवाहरुको कित्तामा उभ्याउँछ भने जडसुत्रीय संशोधनवादले आफुलाई अन्तिमसम्म पनि वामपन्थि कित्तामा नै उभ्याउँछ । यसकारण जडसुत्रीय संशोधनवाद अलि नजिक हो । त्यसैले बाबुरामजीभन्दा किरणजी बुझ्ने ठाउँमा हुनुहुन्छ र कुनै दिन एकताको सम्भावन देखिन्छ । हाम्रो कोसिस पनि किरणजीलाई एकतामा ल्याउने नै हुन्छ ।
अन्तरिम कार्यदिशा
हामी अहिले नेपाली क्रान्तिको कार्यदिशालाई थप सम्वृद्ध गर्दै अगाडि बढ्न खोजिरहेका छौं । माओवादी केन्द्र बनीसकेपछि अन्तरिम कार्यदिशा तय गरेका छौं । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादको विरुद्ध राष्ट्रिय एकता कायम गर्दै जनवादी क्रान्तिलाई पूर्णता दिने र समाजवादी क्रान्तिको कार्यदिशालाई अगाडि बढाउने भन्ने कुरा नै अहिलेका राजनीतिक कार्यदिशाको रुपमा तय गरेका छौं । सामन्तवाद र साम्राज्यवाद विरोधी पूँजीवादी गणतन्त्र भनेकै नयाँ जनवादी क्रान्ति हो । जनवादी क्रान्ति भनेको पनि पूँजीवादी जनवादी क्रान्ति नै हो । त्यसैले कार्यदिशामा कुनै भ्रम छैन । कतिपयलाई कार्यदिशामा छोपछाप गरेकी भन्ने भएको छ । तर त्यो चाहिँ होइन । अहिले जनवादी क्रान्ति पुरा भयो भन्ने स्थिति पनि छैन । सामन्तवादलाई परास्त गरी समाजवादी क्रान्तिको ढोका खुल्ला भएको छ । अहिले पनि सामन्तवादका केही अवशेषहरु बाँकी छन् । राष्ट्रिय स्वाधिनताको लडाँई लड्न बाँकी छ । यो संक्रमणकालिन अवधिमा कार्यदिशालाई थप संश्लेषण गरी परिमार्जन गर्दै नयाँ उचाईमा विकास गरेर लैजाने भन्ने कुरामा हामी एकमत नै छौं ।
पुरानो होइन नयाँ माओवादी
माओवादी पार्टीलाई हिजोको जस्तो मात्र पार्टी बनाउने नभएर समय सापेक्ष हिजोभन्दा परिपक्व, अनुभवि र हिजोभन्दा भिजन क्लियर भएको नेपाली क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ योगदान दिन सक्ने एउटा शक्तिशाली पार्टी बनाउन सकिन्छ । यो माओवादीभित्रबाट मात्र सम्भव छ । नेपालमा अरु कहिँबाट पनि बन्ने स्थिति छैन ।
अहिले विश्व कम्युनिष्ट आन्दोलनलाई योगदान दिने अवसर नेपाली माओवादीलाई मात्र छ । नेपालका माओवादीले हिजो जनयुद्धमा जसरी विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ सन्देश दिन सफल भयो आज त्यो भन्दा पनि परिपक्व नयाँ विचारले सुसज्जित वैचारिक स्पष्टता, सांगठनिक सुदृढतासहित विश्व कम्युनिष्ट आन्दोलनलाई एउटा नयाँ विचार दिने वा दिशानिर्देश गर्ने माओवादी पार्टी बनाउन सकिन्छ ।
माओवादी आन्दोलन र युवाविद्यार्थी
जतिबेला पार्टीको नेतृत्वमा प्रवेश गरेँ त्योभन्दा अलि अघिसम्म म युवाहरुको अध्यक्ष समेत थिएँ । नेपाली आन्दोलन, जनयुद्ध र क्रान्तिको कुरा गर्दा युवाहरुको अग्रणी भूमिकाकै कारण यहाँसम्म आएको हो । मालेमावादले हामीलाई के सिकाएको छ भने माओले भनेजस्तै यो संसार युवाहरुको हो, हाम्रो पनि हो तर अन्ततः तपाईंहरुकै हो । यो कुरा माओले बुढेसकालमा भनेका हुन् । ठूलो अनुभवको संश्लेषण सहित भनेका हुन् । हामी नेपाली माओवादीहरुले पनि यो कुरालाई जिम्मेवारीपूर्वक लागू गर्ने गरेका छौं । युवाहरुलाई प्रशिक्षीत गर्ने, जिम्मेवारी दिने र परिचालित गर्ने कुरामा हामी स्पष्ट नै छौं ।
तर शान्ति प्रक्रियाको कालखण्डमा केहि कमीकमजोरी भएका छन् । युवाहरुलाई परिचालित गर्ने, जिम्मेवारी दिने सन्दर्भमा या सबैखाले सामाजिक विकृति विसंगति विरुद्धमा परिचालन गर्ने सन्दर्भमा ध्यान जानु पथ्र्यो । त्यति ध्यान नपुगेकोमा मलाई पनि चिन्ता छ । तर पनि युवा विद्यार्थीहरुले आफ्नो ठाउँबाट जे जति प्रयास गरेका छन् त्यो पार्टी समेतलाई प्रेरणा मिल्ने खालकै छ ।
अहिले आएर हेर्दा हामी नयाँ परिस्थितिमा छौं । पार्टी एकताको प्रक्रियामा छौं । नयाँ राष्ट्रिय एकता कायम गर्ने, आन्तरिक राष्ट्रियता सुदृढ गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, भूकम्पपछिको पुनर्निर्माणको प्रक्रियामा अगाडि बढ्ने, उत्पादनका लागि संघर्ष गर्ने, संविधान कार्यान्वयन गर्ने र देशलाई समाजवादतिर उन्मुख गर्ने ऐतिहासिक भूमिकामा युवाविद्यार्थीहरुको रणनैतिक महत्व देखिएको छ । विद्यार्थी मोर्चाबाट सकारात्मक भूमिका खेल्दै त्यसलाई गुणात्मक ढंगले अघि बढाउन सक्रियताका साथ लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु र यो क्रान्तिकारी विद्यार्थीहरुको लोकप्रिय मुखपत्र संगीन मार्फत आम विद्यार्थीहरुलाई ऐतिहासिक भूमिकामा एकजुट भएर अघि बढ्न अनुरोध गर्दछु ।
वागबजार, काठमाडौं
फोन नं : 15343108
सम्पुर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थी एकजुट होऔं !!